स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो द नेसन्स लिगको उपाधि

पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ।

आइतबार राति सम्पन्न रोमाञ्चक फाइनलमा पुर्तगालले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै नेशन्स लिगको उपाधि जितेको हो। निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयसम्म खेल २–२ को बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको खेलमा पुर्तगाल विजयी भएको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी १३८औँ अन्तर्राष्ट्रिय गोल गर्दै खेलको ६१औँ मिनेटमा बराबरी गरे र खेललाई अतिरिक्त समयमा पुर्‍याए। स्पेनले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो।

खेलको २१औँ मिनेटमा मार्टिन जुबिमेन्दीले लामिन यामालको क्रसलाई सजिलै पोस्टमा धकेलेर स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ५ मिनेटमै नुनो मेन्डेसले दायाँ कुनाबाट सशक्त प्रहार गर्दै पुर्तगाललाई बराबरीमा ल्याएका थिए।

तर, पहिलो हाफको अन्त्यतिर पेड्रीको पासमा मिकेल ओयार्जाबालले डिओगो कोस्टालाई छलेर स्पेनका लागि दोस्रो गोल गरे।

८८औँ मिनेटमा ४० वर्षीय क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले मैदानबाट बाहिर निकाल्दा दर्शकहरूले उभिएर ताली बजाएर सम्मान जनाए।

पेनाल्टीमा पुर्तगालले सबै प्रहार सफलतापूर्वक परिणत गर्‍यो भने स्पेनका अल्भारो मोराटाको प्रहार गोलरक्षक डिओगो कोस्टाले बचाए। अन्तिम पेनाल्टीमा रुबेन नेभेसले गोल गर्दै उपाधि पक्का गरे।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले आयोजक जर्मनीलाई २–० ले पराजित गर्‍यो।

फ्रान्सले पहिलो हाफमा सुस्त प्रदर्शन गरे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?