सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाइएको हो ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो व्यवस्था कानुनी रूपमा लागु भएको छ । यसले सवारी चालकहरूलाई हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट राहत दिनेछ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५६ मा रहेको नवीकरण सम्बन्धी व्यवस्थामा ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई ‘१० वर्षसम्मको’ भनेर परिवर्तन गरिएको छ ।
यो संशोधनसँगै अब नयाँ जारी हुने र नवीकरण हुने सबै प्रकारका सवारी चालक अनुमतिपत्रको अवधि १० वर्षको हुनेछ ।
यसअघि लाइसेन्सको अवधि पाँच वर्षको मात्र हुँदा नवीकरणका लागि यातायात कार्यालयहरूमा अत्यधिक भीड लाग्ने र सेवाग्राहीले लामो समय लाइनमा बसेर सास्ती खेप्नुपर्ने बाध्यता थियो । यो निर्णयले यातायात कार्यालयहरूको कार्यबोझ घटाउनुका साथै सेवाग्राहीको समय र खर्चको बचत गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?