भोलिदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव; आर्थिक मामिलामन्त्री टकराजले उदघाटन गर्ने

तनहुँ— नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा भोलिदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ।

आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले गर्ने आयोजकले जनाएको छ।

महोत्सव अवधिभर विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा गीत–संगीत प्रस्तुत गरिनेछ। साथै परम्परागत भेषभूषा, जातीय खानाका परिकार, हस्तकला सामग्री, स्थानीय उत्पादन तथा आदिवासी जनजातिसँग सम्बन्धित प्रदर्शनी कक्षहरू समेत रहनेछन्।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सनम तामाङका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको पहिचान उजागर गर्नुका साथै आपसी सद्भाव, सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

आयोजकले तनहुँवासीसहित आसपासका जिल्लाका सर्वसाधारणलाई महोत्सवमा सहभागी भई आदिवासी जनजातिको समृद्ध संस्कृति नजिकबाट अवलोकन गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?