उज्यालो नेपाल पार्टीले फागुन २१ मा हुने चुनावका लागि चुनावी प्रतिबद्धता सार्बजनिक गरेको छ । आइतबार सार्बजनिक गरिएको प्रतिबद्धतामा प्रतिनिधि सभाको संख्या २७५ बाट घटाएर २०१ गर्नेदेखि प्रदेश सभालाई ५५० बाट ३३० बनाउने बताएको छ ।
उज्यालो नेपाल पार्टीले केन्द्रमा १५ र प्रदेशमा ५ देखि ७ जना सम्मको मन्त्रालय राख्ने तथा राज्यमन्त्री र सहायक मन्त्री राख्न नपाउने प्रस्ताव गरेको छ ।
प्रतिबद्धतामा भनिएको छ- ‘शासन खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती गर्ने, सङ्घीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गर्ने र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने प्रस्ताव गरिएको छ । प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणासमेत समेटिएको छ । साथै सरकार गठन भएपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।’
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता कायम गरिने उल्लेख गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ ।
त्यस्तै सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारिएको छ ।
उज्यालोले समृद्धितर्फ स्वदेशी पूँजी परिचालन गर्दै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्ने, र आवश्यक प्राथमिकता क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिएको उल्लेख गरेको छ ।
त्यस्तै २०३० सम्म कुल गार्हस्थ उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी डलर पुर्याउने, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने, निर्यातलाई २०३० मा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने, तथा प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
साथै ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ ।
कृषि उत्पादन प्रवर्द्धन र निर्यातका लागि नियमनलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता बढाउने, तथा पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा र उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाई वार्षिक १० अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ । रोजगारी सिर्जनाका लागि देशभर युवा स्व-रोजगारी अभियान, न्यून ब्याजमा ऋण, र ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने प्रतिवद्धता गरिएको छ । सेवा सुधारका लागि डिजिटल इकोसिस्टम, कानूनी सहजता, एकद्वार प्रणाली र विपद् जोखिम न्यूनीकरणलाई जोड दिँदै राज्य सञ्चालनलाई परिणाममुखी बनाउने प्रस्ताव राखिएको छ ।
उज्यालोले २०२३० सम्म २० लाख र २०३५ सम्म ५० लाख विदेशी पर्यटक भित्राउने दाबी गरिएको छ भने २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र विद्युत निर्यातबाट बार्षिक ५ अर्ब डलर आम्दानी गर्ने बताइएको छ ।
पार्टीले यो प्रतिबद्धता पत्र सम्बन्धित क्षेत्रका विज्ञ, अभ्यासकर्ता लगायत सरोकारवालासँग घनिभूत छलफल गरी, विभिन्न गुणस्तरीय स्रोत सामग्रीका तथ्य तथा तथ्यांकलाई विस्तृत अध्ययन गरेर तयार पारिएको बताएको छ ।
प्रतिबद्धतामा जसरी नेपालमा कुशल व्यवस्थापनमार्फत केही महिनामै १८ घण्टाको लोडसेडिङ स्थायी रूपमा अन्त्य गरियो, त्यसैगरी देशमा विद्यमान अन्य अँध्याराहरू पनि योजनाबद्ध ढंगले छिटो अन्त्य गर्दै आम सर्वसाधारणको जीवनमा उज्यालो ल्याउने दृढ संकल्पसहित यो कार्यान्वयनयोग्य प्रतिबद्धता पत्र जारी गरिएको उल्लेख छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?