शुक्लागण्डकी नगरपालिकाले बाढीपीडितका लागि ७ लाख ५५ हजार सहयोग गर्ने

दुलेगौंडा । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले ७ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले आफ्नो विपद् पुनःस्थापना कोषबाट ७ लाख ५५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा देशमा आएको विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरिएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विपद्को यस विषम घडीमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी थप सहयोग गर्ने जनाएको छ। नगरपालिकाअन्तर्गतका सामाजिक संघ–संस्थाले राहत संकलन गर्न चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी राहत संकलन तथा वितरण गर्न पनि अनुरोध गरिएको छ।

नगरपालिकाले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

साथै, विपद्का कारण सम्पर्कविहीन भएका शुक्लागण्डकी नगरपालिकाका नागरिक तथा दाजुभाइ–दिदीबहिनीहरूबारे जानकारी भए नगरपालिकालाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?