नगरपालिकाले बैठकका निर्णयहरू सार्वजनिक गर्दै पारदर्शिता र सुशासनप्रति प्रतिबद्धता पुनः दोहोर्याएको छ।

दमौली। व्यास नगरपालिकाको नगर कार्यपालिकाको नियमित बैठक आज सम्पन्न भएको छ। नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको हो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले नगरपालिकाबाट प्रवाह भइरहेका सेवाको समीक्षा गर्दै प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक सुधार गर्ने निर्णय गरेको छ।
नगर सभामा सम्पन्न द्वितीय त्रैमासिक समीक्षामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै कर्मचारीहरूको उत्तरदायित्व र जवाफदेहिता थप मजबुत बनाउने निष्कर्ष निकालिएको छ। देखिएका कमजोरी सुधार गर्न सम्बन्धित शाखालाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।
यसैगरी, व्यास नगरभित्र गरिब घरपरिवार पहिचान सम्बन्धी विवरणको विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो। सो प्रतिवेदनका आधारमा लक्षित वर्गसम्म सेवा र सुविधा प्रभावकारी रूपमा पुर्याउने तयारी गरिएको जनाइएको छ।
व्यास नगरपालिकाको ३४औं स्थापना दिवस २०८२ चैत ३० गते विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ। नगर प्रमुखको संयोजकत्वमा मूल समारोह समिति गठन गरिने तथा विभिन्न उपसमिति पनि गठन गरिनेछ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित बजेटसम्बन्धी प्रस्तावमाथि पनि बैठकमा छलफल भएको छ। चालु तथा पूँजीगत खर्चको प्रगतिबारे जानकारी लिँदै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। साथै आन्तरिक आयको अवस्थाबारे समीक्षा गर्दै राजस्व संकलनलाई थप व्यवस्थित गर्ने योजना बनाइएको छ।
बैठकले उपप्रमुख श्री इन्दिरा दरै तथा उनका छोराको सडक दुर्घटनामा घाइते भई उपचाररत रहेको अवस्थामा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?