काठमाडौँ । बिस्का जात्राको अवसरमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । भक्तपुरको बोडेमा २९ बर्षिय सुजनले जिब्रो छेडेका हुन् ।
सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताएपछि पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए ।
जात्राको हालसम्मको प्रमाणअनुसार १३ जनाले १०९ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।
बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?