दमौली : व्यास नगरपालिकाले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले आफ्नो विपद् पुनःस्थापना कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाका अनुसार बाढीका कारण नदी किनारमा रहेका क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति नगरपालिका गम्भीर र स्तब्ध भएको जनाएको छ।
व्यास नगरपालिकाले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। साथै, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट थप सहयोग गर्ने व्यहोरासमेत प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
नगरपालिकाले विपद्का बेला अन्य सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। नगरपालिकाभित्रका सामाजिक संघसंस्थाहरूलाई समेत जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सहयोग संकलन तथा वितरणमा सहकार्य गर्न आग्रह गरिएको छ।
व्यास नगरपालिकाले बाढी तथा विपद्का कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका व्यास नगरपालिकाका नागरिक तथा दाजुभाइ–दिदीबहिनीहरू सम्पर्कमा नआएको भए सम्बन्धित आफन्तले नगरपालिकालाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
यसैबीच, पछिल्लो बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ। सरकारले समेत प्रभावित जिल्लामा उद्धार तथा राहतका लागि आपत्कालीन सहयोग परिचालन गरिरहेको छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?