सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार दिउँसोदेखि बिहीवार राति १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै सहयोग जुटेको हो ।

दाताहरूले १० वटा वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका हुन् । यो सहायतामा विभिन्न मित्रराष्ट्रबाट घोषणा भएको रकम समावेश छैन ।

बुधवार बिहान भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा सर्वसाधरणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका थिए ।

यससँगै कोषमा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो ।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ ।

कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ । निजी क्षेत्र, गैरसरकारी सङ्घ–संस्था, प्रदेश तथा पालिका सरकारलगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

यस्तै हिजो सचिवस्तरीय बैठकबाट सङ्घीय कर्मचारीहरूले तहअनुसार १० दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन् ।

विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले १ अर्ब ५२ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । अस्ट्रेलियाले झन्डै ५५ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाले ५ लाख अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

कोषमा गोरखा ब्रुअरीले सबैभन्दा धेरै १० करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै बीवाईडी साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र आबद्ध जलविद्युत् आयोजनाहरूले ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

व्यावसायिक क्षेत्रबाट सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ सहयोग गरेको छ । एनसेल आजियाटा र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले समान १ करोड रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोट्रोक्सले ७० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । कम्पनीले त्यसमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने र बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ ।

त्यस्तै शिवशक्ति ग्रुपले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । यसैगरी हिमालयन बुलियन कम्पनीले २१ लाख, उद्योग सङ्गठन मोरङले १५ लाख, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी ग्रुपले १० लाख ५१ हजार, नेपाल लेयर्स कुखुरा पालक सङ्घले १० लाख,  रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन् । कङ्गारु एजुकेशन फाउन्डेशनले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

स्वदेशी संस्थासँगै अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोग घोषणा भएको छ । अमेरिकाले ५ लाख अमेरिकी डलर, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) ले १२ लाख अमेरिकी डलर, बेलायत सरकारले ५ मिलियन पाउन्ड सहयोग गर्ने घोषणा गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?