मतदाता नामावली संकलन आजदेखि स्थगित

स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेको छ ।निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगले जनाएको छ  ।

आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो।

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगका प्रारम्भिक तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?