कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए ।
स्रोतका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको बताएका छन् । उनको खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृत भेटिएका थिए ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
लामाले ‘कलकत्ते काइँयो’, ‘चुईंचुईं चुइँकने जुत्ता’, ‘मूलाको चना’लगायतका चर्चित गीत गाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?