युक्रेन घटनाबाट नेपालले पाठ सिक्नुपर्छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।

उनले युक्रेनमाथिको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ सिकाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो’ श्रेष्ठले भनेका छन्, ‘नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गरेका छन् । त्यस्तै सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?