त्रिभुवन विमानस्थलबाट श्रम डेस्क हट्यो, श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाएको छ । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाएका हुन् ।  अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृतिको जाँच गर्नेछन् ।

वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्धारलाई सीमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौं लाइन बस्नु पर्ने बाध्यता थियो ।

श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको डेस्क अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको थियो । तर, श्रमिकलाई डेस्कले अनेक बाहाना बनाएर दुःख दिने गरेको थियो ।

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परिक्षणका लागि छुट्टै लाइनमा घन्टौं बस्नुपर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजारभन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । दैनिक करिब २ हजार श्रमिकले सास्ती बेहोर्दै आएकोमा अब समस्या नहुने मन्त्रालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?