श्रममन्त्री श्रेष्ठ आज यूएई जाँदै

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाल-यूएई संयुक्त समितिको बैठकमा भाग लिन मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई प्रस्थान गर्न लागेको हो ।

रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीसँग छलफल गर्ने भएका छन् ।भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्नुहुनेछ । मंगलबार नै नेपाल-यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल-यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ । भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?