
दमाैली : तनहुँको व्यास नगरपालिकाको आयोजनामा मेयर उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।उद्घाटनको दिन भएको खेलमा सत्यवती माध्यमिक विद्यालय, वाराही आवासीय माध्यमिक विद्यालय र महेन्द्रज्योति माध्यमिक विद्यालय विजयी भएका छन् ।
सत्यवती माध्यमिक विद्यालय र पराशर कलेजबीच भएको खेलमा सत्यवती ६–१ ले विजयी ,वाराही आवासीय माध्यमिक विद्यालय र शिव पञ्चायन माध्यमिक विद्यालयबीच भएको दोस्रो खेलमा वाराही ३–१ र महेन्द्रज्योति र क्यामिन माध्यमिक विद्यालयबीच भएको तेस्रो खेलमा महेन्द्रज्योति १–० ले विजयी भएको व्यवस्थापक विद्यालय निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बिहीबार छ विद्यालयबीच प्रतिस्पर्धा भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ ।
व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सुरु प्रतियोगिताको गण्डकी प्रदेश सांसद सरिता गुरुङले उद्घाटन गर्दै विद्यालयस्तरदेखि नै बालबालिकामा खेलकुदप्रति प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?