निगम र व्यवसायीबीच चार बुँदे सहमति, आजबाट खुल्दै पेट्रोल पम्प

दमौली : गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डिपो सञ्चालनमा आउँदैछन् ।

सहमतिपत्रमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता कमिसनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भएको छ । पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो आइतबार बिहान ८ बजेबाट सञ्चालन गरिनेछ ।’

पछिल्लो समय इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?