काठमाडौं : सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय शिक्षण संस्थामा पनि लागू हुने भएको छ ।अब विद्यालय र क्याम्पसजस्ता शिक्षण संस्था शनिबार र आइतबार बन्द हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भन्छन्, ‘सार्वजनिक विदा भनेपछि सबै क्षेत्रमा लागू हुन्छ ।’
कति व्यवहारिक ?
पढाइ भएको दिन धेरै समय पढाउने र हप्तामा दुई दिन घरमै राख्दा बालबालिकालाई मानसिक बोझ हुने उनको भनाइ छ । ‘बालबालिकाको शारीरिक र मानसिक अवस्था अनुसार लामो समय कक्षाकोठामा राख्न र सिकाइ सहजीकरण गर्न प्रत्युत्पादक हुन्छ’ उनी भन्छिन् ।
विद्यालयमा समयवधि थप गर्दा खेल्ने उमेरका बालबालिकालाई मानसिक तनाब बढ्न सक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । अहिले विद्यालयमा घोकन्ते शैलीमा पढाइ हुने भएकोले बालबालिका कतिबेला छुट्टी हुन्छ र घर जाउँ भन्ने मानसिकतामा हुने भन्दै ढकाल यसले बाल बाल मस्तिष्कमा असर पर्ने सक्ने धारणा राख्छन् ।
‘बालबालिकामा म पढाइ भन्दा बढी खेल्नमा रुची हुन्छ । खेल्ने समय कटौती भएपछि बालमष्तिष्कमा असर त पर्छ नै । यसले बालबालिकामा पढाइप्रति नै वितृष्णा जगाउने जोखिम देखियो’ ढकाल भन्छन् ।
त्यसैले सरकारले सिर्जनात्मक शिक्षण सिकाइको विधि बनाउनुपर्ने उनको सुझाव छ ।
नयाँ व्यवस्थाले बालबालिका र निजी क्षेत्रमा कार्यरत अभिभावकलाई भने समस्या हुने कुपन्डोलकी सुस्मिता कुँवर बताउँछिन् । ‘१० बजे विद्यालय लाग्दा त बिहान साढे आठ बजे गाडीमा चढाउनै पर्छ । अब झन् ७ बजे चढाउनुपर्ने भयो । पढाउने समय थप गर्नु प्राक्टिकल भएन’ उनी भन्छिन् ।
निजी क्षेत्रमा कार्यरत अभिभावकलाई दुई दिन विदा हुने नहुने अहिले नै निर्णय भइसकेको छैन । त्यसैले यस्ता अभिभावक मारमा पर्ने कुँवर बताउँछिन् ।
‘हामी निजी क्षेत्रमा काम गर्ने अभिभावकलाई समस्या हुने देखियो । म काम गर्ने निजी क्षेत्रमा यो सरकारी निर्णय लागू हुँदैन । आइतबार नानीबाबु हेर्नको लागि विदा लिने भन्ने पनि हुँदैन’ उनी भन्छिन् ।
विद्यालय समय थप गर्दा टाढाको विद्यालयमा अध्ययन गर्ने बालबालिका समस्यामा पर्ने शिक्षाविद प्रा. डा. विद्यानाथ कोइराला बताउँछन् । ‘विद्यालयदेखि टाढा भएका पहाडी क्षेत्रका बालबालिकालाई समस्या पर्छ’ उनले भने ।
निजी विद्यालयको संस्था प्याब्सनका अध्यक्ष डीके ढुंगाना विद्यालय समय लम्ब्याउने भन्दा पनि वैकल्पिक कार्यक्रमको विकास गर्नुपर्ने बताउँछन् । ‘हामीले वर्किङ आवर लम्ब्याउने भन्दा पनि विद्यार्थीलाई लाइफ स्किलसँग जोड्ने, समाज समुदायसँग जोड्नको लागि प्रोजेक्ट बेसिस प्रोग्राम डेभलप गरेर अगाडि बढ्नुपर्छ’ उनले भने ।
विद्यालय समय बढाउनु व्यवहारिक नहुने भएकोले आइतबार बालबालिकालाई कुनै खालको कार्यक्रममा जोड्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी शिक्षण अवधि नघटाउने हो भने समस्या नहुने बताउँछन् । उनी भन्छन् ‘भौगोलिक कारणले केही असजिलो हुन्छ । असर पनि होला तर अब यसलाई लागू गर्ने हो भने विस्तारै अभ्यस्त हुँदै जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?