तनहुँमा ११५ उम्मेदवारले गरे मनोनयन फिर्ता

दमाैली : तनहुँमा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ११५  उम्मेदवारले आज आफ्नो मनोनयन  फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका १० स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

शुक्रबार १४ जना स्थानीय तहको प्रमुखका उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँको प्रमुख हरि ढकालले जानकारी दिए । स्थानीय तहको प्रमुख बन्नलाई ७२ जना र उपप्रमुख बन्नलाई ५६ जनाले उम्मेदवारी दिएका थिए ।

व्यासको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादी पार्टीका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारी, घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका हिमकुमार मल्ल र आँबुखैरेनीमा स्वतन्त्र उम्मेदवारी दिएका कर्णबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेदवारी फिर्ता भएको छ ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेदवारी फिर्ता भएको छ । उपमेयरमा एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

भिमाद नगरपालिकाको मेयरममा कांग्रेसबाट उम्मेदवारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी मधुमाया ढकालले पनि फिर्ता लिइन् । भानुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तीन जनाले फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट शुसिला नेपाल, स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेदवारी फिर्ता भएको छ ।

गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाभर एक हजार ७५१ जनाले उम्मेदवारी दिएका थिए । अब जिल्लामा उम्मेदवारी फिर्तासँगै प्रमुख पदमा ५८ जना ,उपप्रमुखमा ५२ जना र कुल  एक हजार ६३६ उम्मेद्वार चुनावी मैदानमा भिड्ने भएका छन् । निर्वाचनबाट जिल्लाका १० स्थानीय तहको ८५ वडामा ४४५ जना मात्र जनप्रतिनिधि विजयी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?