
दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आहृवान गरको छ ।
नेपाली पत्रकारको साझा संस्था महासंघले सधै साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा,साख र साझा चरित्रलाई बचाउने कार्यमा हरेक सदस्यको भूमिका महत्वपूर्ण रहि आएको महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए ।
महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोही समय देखि कायम रहेको पदबाट स्वत: मुक्त हुन जाने निर्णय यस अघिको केन्द्रीय समितिको बैठकबाट भएको महासंघ तनहुँका सचिव प्रताप रानाले जानकारी दिए ।
निर्वाचन आचार संहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?