
काठमाडौं : स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।
‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?