जिम्बावे ‘ए’ ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट – Damauli Online News
Skip

जिम्बावे ‘ए’ ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट

काठमाडौं :  तेस्रो तथा निर्णायक एकदिवसीयमा जिम्बावे ‘ए’ ले  नेपाललाई २१४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा २१३ रनमा अलआउट भयो।

गए रातिको वर्षाका कारण मैदान हिलो भएकाले टस हुन ढिलाइ भएपछि खेल ३३ ओभरमा झारिएको थियो।

जिम्बावेका लागि ओपनिङ ब्याट्सम्यान मारूमानीले ५० रन जोडे। उनले ३१ बलमा ७ चौका र २ छक्का हिर्काए। माउजेले ३९ रन र रोए काइयाले ३६ रन जोडे। कप्तान टोनी मुन्योङ्गाले २४ रनको योगदान दिए भने लुक जोङ्गेले १९ रन बटुले।

बलिङमा किशोर महतोले ५ विकेट लिए। उनले ७ ओभरमा ४३ रन दिए। सोमपाल कामीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

यसअघि पहिलो एकदिवसीयमा जिम्बावे र दोस्रोमा नेपाल विजयी भएका थिए। जसका कारण यो खेल निर्णायक छ।

यसअघि भएको टी-२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो।

नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।

सेतोपाटी 

error: Content is protected !!