दमौली : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भइरहेको मतदानमा तनहुँमा करिब ५० प्रतिशत मत खसेको छ । जिल्लाका ४ नगरपालिका, ६ गाउँपालिका तथा ८५ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने कार्य जारी रहेको बताए । जिल्लाका २९७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए । निर्वाचनबाट तनहुँमा ४४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
४ नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी ८ जना निर्वाचित हुनेछन् भने ६ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र ४ सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । तनहुँका १० पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?