रिस्तीमा पुनः मतदान गर्न माग

दमाैली : तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न नेकपा एमाले र गोविन्दराज जोशी समूहले माग गरेका छन् । आज नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले  प्रेस विज्ञप्ती जारी गर्दै गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रक्रिया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन् ।

मतदानका क्रममा भएका प्रक्रियाहरु छानबिन गरी पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) मा बिहानैदेखि प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरुले मतदान केन्द्र नियन्त्रणमा लिई एकलौटी मतदान गरी मतदान केन्द्र कब्जा गरेको आरोप लगाइएको छ ।

शान्ति सुरक्षाको स्थिति बिगारेको, वडाध्यक्ष, सदस्यका उम्मेदवारहरु, दीपकराज जोशी र नेकपा एमालेका एजेन्टहरुलाई कुटपिट गदै मतदानस्थलमा बस्न नदिई लखेटिएको र शान्ति सुरक्षाको स्थिति सुधार गर्न दीपकराज जोशी र नेकपा एमालेका नेताले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरी एकलौटी रुपमा भोट हाल्न मौन समर्थन दिँदा उक्त परिस्थिति उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?