त्रिविको ताला १४० दिनपछि खुल्यो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रूपमा खुलाएपछि सञ्चालनमा आएको हो।

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन्। उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने स्रोतले बताए।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरूले जेठ २९ गते ताला खोलेका थिए। प्रतिनिधि सभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए।

यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?