सत्यवतीमा नर्सको सुविधा दिने जिल्लाकै पहिलो विद्यालय

दमौलीः व्यास नगरपालिका २ स्थित  सत्यवती मावि दमौलीले विद्यालयमा आधारभूत स्वास्थ्यलाई प्राथमिकतामा  राखेर विद्यार्थीलाई आवश्यक नर्सिङ सेवा सुविधा दिन थालेको छ ।

सत्यवती माविले प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यका साथ आवश्यक उपकरण तथा औषधीसहितको नर्सिङ सुविधा प्रदान थालेको जिल्लाकै पहिलो  हो ।गुणस्तरीय शिक्षा प्रदानमा राम्रो ख्याति कमाउँदै आएको उक्त विद्यालयमा जिल्लाकै ठूलो करिब तीन हजार विद्यार्थीहरुले अध्ययन गर्ने गर्छन ।

विएससी नर्सिङ उत्तीर्ण सुनिता जोशीमार्फत नर्सिङ सेवा प्रदान गर्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखेको उनले बताए ।

प्रधानाध्यापक एकबहादुर गुरुङले नर्सले ज्वरो आउनुका साथै सामान्य स्वास्थ्य समस्या देखिएमा परीक्षण तथा उपचार गर्ने जानकारी दिए । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने विद्यालयले जनाएको छ । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाइने छ भने महिनावारी भएका बेला छात्राहरूलाई सेनेटरी प्याड विद्यालयले निशुल्क प्रदान गर्ने गरेको छ ।

नेपाल सरकारद्वारा  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरे पनि अझै सो कार्यक्रम पुग्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले  नर्सिङ सेवा सुविधा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?