दमौली :नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने जबताएका छन् ।नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उनले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए।
”महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जबाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने धारणा व्यक्त गरे। सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए। “स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ”, महामन्त्री थापाले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताए। कांग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले कांग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गरे ।
तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेता यज्ञ थापालगायतले आफ्नो धारणा राखेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?