पोखरा : नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बिहीबार दाबी पेस गर्ने भएको छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बहुमतको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेसले दाबी पेस गर्न लागेको हो।
गण्डकीमा नेपाली कांग्रेस पहिलो दल भएकाले उसले दाबी पेस गर्न लागेको हो। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन्। उक्त समयअघि नै कांग्रेसले पाण्डेको नाममा दाबी पेस गर्न लागेको हो।
एमाले, माओवादी र राप्रपाको समर्थनमासहित पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। उनको सरकार वैशाख ९ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढलेको थियो। अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो। मंसिर ४ गते भएको निर्वाचनपछि गण्डकीमा दोस्रो सरकार बन्दैछ।
माओवादी मन्त्रीले चैत १० गते समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वासको मत लिएका थिए तर उनले विश्वास नपाएपछि सरकार ढलेको थियो।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अर्को उपदफा ३ अनुसार सरकार गठनको प्रस्ताव प्रदेश प्रमुखले आह्वान गरेका हुन्।
सत्ता गठबन्धनको सहमतिअनुसार पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउनेछ भने दोस्रो कार्यकालमा माओवादीले पाउने सहमति भएको छ। उक्त सहमतिअनुसार पाण्डेले विश्वासको मत लिँदा माओवादी र एकीकृत समाजवादीले दिने तयारी भइरहेको छ।
६० सदस्य प्रदेश सभामा कांग्रेस २७, माओवादीका ७ (सभामुख बाहेक), एकीकृत समाजवादी १ सदस्यले प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्नेछ। मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको एक कांग्रेस सांसदले बताए।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?