दमौली : तनहुँको व्यास नगरपालिका -३ स्थित दमौलीमा निर्माणाधीन सभागृहको निर्माण अन्तिम चरणमा पुगेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् निर्माण भइरहेको भवनको काम ९८ प्रतिशत सकिएको निर्माण कम्पनीका इन्जिनियर बिक्रम केसीले बताए ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना कहरका कारण ढिलाई भएको छ ।विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद आगामी चैतसम्म थप गरिएको छ ।
भ्याट बाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँको लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे एमए प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।
भवनको तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले शिलान्यास गरेको थियो । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ। सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थल समेत रहनेछ। सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?