विशाल र सनमले दिलाए नेपाललाई स्वर्णपदक

काठमाडौं : विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि स्वर्णपदक जितेका छन् ।

एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथिको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जितेका हुन् । तेस्रो स्थानमा थाइल्यान्डका बालान्कन पठान सिरावत रहे ।

याक एन्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुला विधातर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग, चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेस्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् ।

लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भुसँग पछाडि परेपछि स्वर्णबाट चुकेका हुन् । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कास्य जिते ।

यस्तै, अर्को पदक नेपालले ६० केजी तौलमा हात पा¥यो । नेपालका अश्मिन बाबु गुरुङ्गले रजत र कमल भण्डारीले कास्य जिते । यस विधामा थाइल्यान्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी सम्म र ७५ केजी माथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष र मुनि, महिला फिटनेस फिजिक १६५ सेमीसम्म, १६५ सेमीमाथि, महिला टिनेज एथलेट फिजिक १५–१८ वर्ष, महिला स्विम सुट खुल्ला, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्षमाथि गरी १५ विधामा प्र्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङ्गकङ्ग चाइना, भारत, कजाखस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?