पोखरा : पुतली बाजे’ नामले चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए।
साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।
पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्। ‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाईघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।
‘पुतली बाजे’ बेलायतबाट वि.सं. २०२२ मा नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।
पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएका थिए।
नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो । उनले नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?