छात्रवृत्ति कोष स्थापनाका लागि क्याम्पसका विद्यार्थीहरुको देउसीभैलो

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्ति कोष स्थापनाका लागि विद्यार्थीहरुले देउसी भैलो कार्यक्रम संचलन गरेका छन्।

क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम संचलन गरिएको व्यवस्थापन विद्यार्थी सर्कलका अध्यक्ष निशा भण्डारीले जानकारी दिइन्  ।

करिव ६० हजार रुपियाँ  संकलन गर्ने लक्ष्यसहित आज देखि दमौली बजार र आसपासका क्षेत्रमा संचालन गर्ने अध्यक्ष भण्डारीले बताइन ।

छात्रवृत्ति कोष स्थापनासहित क्याम्पस र समुदाय बीचको सम्वन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा कोष खडा गरि व्याजबाट बार्षिक रुपमा गरिव, अपाङ्ग, जेहेन्दार , विपन्न एवम् पिछाडिएको वर्गका विद्यार्थीहरुलाई प्रदान गरिने उद्देश्य रहेको सर्कल निवर्तमान अध्यक्ष एवं स्ववियुका उपसभापति दिनेश विश्वकर्माले बताए ।

उनले भने, ‘गत बर्ष पनि यहि सर्कलवाट देउसी भैलो सञ्चालन गरी केही रकम संकलन गरिएको थियो, यसलाई थप गरेर यो वर्ष कोष खडा गर्ने लक्ष्य हाम्रो छ । ‘

आज देखि संचलन भएको देउसी भैलो कार्यक्रम स्ववियुका सचिव अनुप आले, स्ववियु कोषध्यक्ष निर्दोष भट्टराई,  स्ववियु सदस्य एवं सर्कलका निवर्तमान सचिव सुमन खडका, स्ववियु सदस्य सगर पाण्डे, अर्चना शाह,सुनिल रानाभाट, ए.बि.सि म्याथ सर्कलका अध्यक्ष वर्षा गुरुङ, सृजनशील मंजकी अध्यक्ष लक्ष्मी लोहोनी, जीवन सेवा अभियानकी अध्यक्ष प्रतिमा गहतराज लगायत उपस्थित रहेको सर्कलकी सह-सचिव सुष्मा श्रेष्ठले जानकारी दिइन्।

क्याम्पसमा विद्यालय तह अन्तर्गत कक्षा ९ देखि १२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?