भिमाद जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौली : तनहुँको भिमाद नगरपालिका–५ र ३ को सीमाना सुनाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–२ बस्ने ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँ बस्ने ५५ वर्षीय जेमलाल दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप आज सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । जीपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक खाँणले  बताए ।

दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते हुनेहरुमा नवलपुरको बौदीकाली गाउँपालिका–२ बस्ने ४० वर्षीय हरि ओझा, पाल्पाको निस्दी गाउँपालिका–१ बस्ने ६६ वर्षीय ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने ४६ वर्षीय दिनानाथ कंडेल, पाल्पाको रामपुर नगरपालिका–७ बस्ने ३१ वर्षीया लक्ष्मण पङ्गेनी रहेको छ ।

त्यस्तै स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने ३२ वर्षीया रेनु थापा, सोही ठाउँ बस्ने ६ वर्षीया रनिसा थापा, तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बस्ने ४८ वर्षीय सेतु कार्की, पाल्पाको निस्दी गाउँपालिका–२ बस्ने २७ वर्षीय पूजा सारु, भिमाद नगरपालिका–३ बस्ने ६२ वर्षीया दण्डपाणी रिजाल र घिरिङ गाउँपालिका–४ बस्ने ५० वर्षीय तिखे थापा घाइते भएका छन् ।

घाइतेहरुको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र  गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?