मध्यविन्दु : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास–त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गरेको छ । शुक्रवार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी क्षेत्रको स्थलगत भ्रमणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताए ।
“दुम्कीवासबाट त्रिवेणी जोड्ने बाटो निर्माण प्रक्रिया सुरु गर्न आवश्यक समन्वय भइरहेको छ”, उनले भने, “बाटो निर्माणका लागि बजेट अभाव हुँदैन, प्रदेशले पनि बजेटको प्रबन्ध गर्छ, सङ्घ सरकारले पनि पर्याप्त बजेट छ भनेको छ ।”
गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको त्रिवेणी–कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदासूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री पाण्डेले त्रिवेणी भन्सार नाकालाई चलायमान बनाउन आवश्यक तयारी गर्न निर्देशन दिए । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्णरूपमा उपयोग गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । “त्रिवेणी भन्सार कार्यालयलको व्यवस्थापन र सीमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि प्रदेशबाट आवश्यक पहल हुनेछ”, उन भने, “त्रिवेणी–कोरोला मार्ग सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।”
अनुगमनमा मुख्यमन्त्री पाण्डेसहित कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीलगायत उपस्थित रहेको थियो । विनयी–त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उत्तरमा पाल्पाबाट दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे ।रासस












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?