तनहुँ प्रशासनले रङ्गीन कटन क्यान्डी विक्री–वितरणमा रोक लगायो

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा रोक लगाएको छ । सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ रोडामाइन बिको प्रयोग भएको पाइएकोले तनहुँमा पनि रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणबाट विषाक्त फेला परेकोले प्रतिबन्ध लगाइएको उल्लेख छ ।

काठमाडौँका विभिन्न स्थानका सडकपेटी, बजार, मेला लगायतमा खुल्ला रूपमा बिक्री भइरहेको रङ्गिन कटन क्यान्डी (चिनीमा रङ्ग मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई) मा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य रङ्ग रोडमाइन बी प्रयोग भएको पाइएकोले प्याकेटमा लेबल विवरण केही पनि नभएको त्यस्तो रङ्गिन कटन क्यान्डी नखानु-नखुवाउनु हुन सूचित गरिएको छ ।

साथै कटन क्यान्डीको उत्पादकले आफ्नो उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका कार्यालयमा जाँच विश्लेषण गराइ खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्नुहुन अनुरोध गरिएको छ । अटेर गरेमा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?