काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलिदेखि घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय शृङ्खला खेल्दै छ ।
बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृङ्खलाको तीन वटै खेल बिहान ९ः१५ देखि सुरु हुने तालिका छ ।
शृङ्खलाको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिममा नयाँ रहेका खेलाडीहरूका निम्ति यो प्रमाणित गर्ने अवसर भएको बताए ।
“बलिङ अट्याकमा करण दाइ मिस हुने छन् । करण दाइ र गुल्सनलाई यो शृङ्खलामा आराम दिइएको छ । सोम दाइ र ललित दाइको अनुभवसँगै पीएम कपमा राम्रो प्रदर्शन गरेका नयाँ बलर आउनुभएको छ । उहाँहरूका लागि अवसर हुन सक्छ यो प्रतियोगितामा,” रोहितले भने, “पुबुदु सरसँग हामीले पनि काम गर्यौँ । पुबुदु सरलाई पनि हाम्रो बारेमा धेरै थाहा छ । सन् २०१४ मा उहाँकै प्रशिक्षणम नेपालले विश्वकप खेलेको थियो । त्यसबाट नै हामी प्रभावित भएकाले उहाँप्रति मेरो ठूलो सम्मान छ । चुनौतीहरू जति आउँछन्, त्यसलाई लिएर सबैजनाले राम्रो प्रदर्शन गर्न पर्छ ।”
क्यानडाविरुद्धको शृङ्खलाका लागि नेपाली टिममा यू–१९ टिमका हेमन्त धामी, आकाश चन्द र देव खनालले स्थान बनाएका छन् । यस्तै, भर्खरैमात्र सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सूर्य तामाङ, रिजन ढकालले टिममा स्थान बनाउँदा पवन सर्राफ र अनिल साहले टिममा पुनरागमन गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?