दमौली : गोरखाको पवित्र मनकामना मन्दिरवाट दुई सय मिटर पूर्व उत्तर तर्फ र आँबुखैरेनी बजारबाट ८ किलोमिटरको दुरीमा अवस्थित छ ढाँडबारी गाउँ । सुन्तलाको पकेट क्षेत्र गोरखाको सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँडबारी गाउँको परिचय हो ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले ढाँडबारी गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले ढाँडबारी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।
मगर जातिको बाहुल्यता रहेको ढाँडबारीमा एक सय दश घरमा मगर बस्छन् । प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको मनकामना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिव राना मगरले जानकारी दिए ।
“होमस्टे चलाउने भनेर केही वर्ष आगाडी देखि नै हामीले योजना बनाएका हौँ”, उनले थपे, “ विपद उत्थानशील युवा तथा महिला उद्यमी परियोजना, सहमती र लुथरन वर्ल्ड रिलिफको साझेदारी परियोजनाले तालिम तथा सीप प्रदान गरेपछि सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उनको भनाइ छ ।
कोदो, मकैको परिकारसँगै लोकल कुखुरा, कालो बंगुर लगायतको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको मनाकमाना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिव राना मगरले बताए। “पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौैँ”, उनले भने, “स्थानीय उत्पादन नै मनकामना मगर सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।”
घरबासका लागि एक हजार रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने होमस्टेकी सचिव मनिषा थापा मगरले जानकारी दिइन । ढाँडबारीमा प्रत्येक दिन ४४ जना पाहुना राख्न सक्ने क्षमता छ ।
ढाँडबारी गाउँको अर्को विशिष्टता सुन्तलाको पकेट क्षेत्र पनि हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण सुन्तला, नास्पति , आरु लालिगुँरास लगायतबाट उत्पादन गरिएका जुस, जाम , रक्सी बन्न पुगेको छ । ढाँडबारी पुग्नेले त्यहाँको अर्गानिक सुन्तलाको परिकारको स्वाद लिन पाउँछन् ।
पाहुना फर्किँदा स्थानीय सुन्तला, नास्पति , आरु लालिगुँरास लगायतबाट उत्पादन गरिएका जुस, जाम , रक्सी कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष रानाले जानकारी दिए ।
नेपालकै स्वादिलो सुन्तला उत्पादन हुने, स्वच्छ हावापानी भएको रमाईलो मगर बस्तिमा सञ्चालीत यस होम स्टेमा आउने पर्यटकहरुलाई मगर संस्कृतिका थालि नाच, कौरा नृत्य तथा अन्य मगर संस्कृति देखाएर भरपुर मनोरञ्जन गरिन्छ ।
गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण ढाँडबारी ओझेलमा गरेको अर्का स्थानीयवासीहरु बताउछन् । प्रकृति र संस्कृतिले सम्पन्न ढाँडबारीलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पु¥याउन नसकिएको उनहरुको भनाइ छ ।
गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण ढाँडबारी पछि पर्न थालेको होम स्टेकी सदस्य आशिका थापा मगरले बताईन् । ढाँडबारीसम्म पुग्ने ८ किलोमिटर सडकको बाटो व्यवस्थित गर्न सके बाह्रैमास पाहुना जान सहज हुने उनको भनाइ छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?