दमौली : ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई तनहुँको भानु नगरपालिकास्थित सतिघाटमा बाजागाजासहित पदयात्रा टोलीलाई भानु नगरपालिकामा स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् ।
पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन् । उक्त कार्यक्रममा गोरखाको सिमानामा रहेको सतिघाटमा नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, गोरखाको पालुङटार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डे, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, गन्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विकास राज खनाल, तनहुँका प्रहरी प्रमुख एसपी अपिलराज बोहोरा, रुरु भैरवदल गणका गणपती पुर्णबहादुर थापा लगायत स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।
गोरखा दरबारबाट ३० किलोमिटर दूरी पार गर्दै सतिघाट आइपुगेको अवसरमा रिपुपर्दन गणले नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ ।
भानुको सतिघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले टोलीलाई स्वागत गर्दै पदयात्राले स्थानीय र सेनाबीच सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीबाट श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।
केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा सैनिक फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणका दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?