दमौली : तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।
तनुहँको आँबुखैरेनी गाउँपालिका(२ को ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस आज विहान खसेको थियो । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार दुर्घटनामा घाइते यात्रुहरुको अहिले उद्धार कार्य जारी रहेको छ ।
उक्त बसमा करिव ३५ जना भारतीय यात्रुहरू भएको अनुमान गरिएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय पर्यटक बस सडक १ सय ५० मिटर तल नदी किनारमा खसेको छ ।
घटनास्थल अत्यन्त अप्ठ्यारो भएको हुँदा उद्धार कार्यमा समेत कठिन भइरहेको छ । घटनाको जानकारी प्राप्त हुने बित्तिकै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र आफू घटनास्थलमा पुगेको प्रहरी प्रमुख शाहीले बताए ।
भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ।
बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन्।
उद्धारका लागि कुरिनाटारबाट सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली खटिएको छ । घटनास्थलमा घाइतेहरूलाई डोरीका माध्यमले उद्धार गरिराखिएको छ ।
घटना स्थलमा घाइतेहरूलाई उद्धार गरेर अहिले अस्पतालतर्फ लग्ने कार्य भइरहेको छ ।
नेपाल प्रेस











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?