दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्याउनका लागि भ्रमण वर्ष २०२५ हुने भएको छ । बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकोले त्यसको लाभ गाउँसम्म पुर्याउने प्रमुख उद्देश्यले अङ्ग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ ।
गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी घुम्न आउने पर्यटकलाई बन्दीपुर बजार मात्रै नभई गाउँमा रहेका पर्यटकीय स्थलको अवलोकनको लागि अङ्ग्रेजी नयाँ वर्षदेखि सुरु हुने गरी बन्दीपुर भ्रमण वर्ष–२०२५ मनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
उनले भने, “बन्दीपुरका ६ वटै वडामा पर्यटक पुर्याउन भ्रमण वर्ष मनाउने निर्णय गरेका हौं । गाउँसम्म पर्यटक पुग्न सहज बनाउन सडकको स्तरोउन्नती, सिंढीमार्ग निर्माण तथा उज्यालो बन्दीपुर कार्यक्रम गरेका छौं ।”
अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले ९ वटा भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताए। गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरेको जनाएको छ ।
खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रविन्दु रहेका उनले बताए।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।
बन्दीपुरमा केवलकार सञ्चालन गरिएको छ । पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजारनजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार सञ्चालन गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?