तनहुँ- प्रयाप्त पानी नपर्दा साउनको तेस्रो हप्ता सम्म तनहुँमा रोपाइँ पुरा हुन सकेको छैन । जिल्लामा हालसम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्षहरुमा साउनको पहिलो हप्ता नै धान रोपाइँ सम्पन्न हुने गरेपनि यस वर्ष पानी प्रयाप्त नपर्दा रोपाइँ प्रभावित बनेको हो । लामो समयको खडेरी र प्रयाप्त बर्षा नहुँदा अझै १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि अर्थ विज्ञ सुरज गैह्रेले बताए । साउनको पहिलो साता भित्रै रोपाइँ सम्पन्न भइसक्नु पर्नेमा तेस्रो साता सम्म पनि पुरा नभएको उनको भनाई छ ।
पानीको पहुँच पुगेको नदी तथा खोलाबाट सिञ्चित गैरी खेतमा रोपाइँ भए पनि मूल फुट्ने गरी आकाशे पानी नपर्दा टारी खेतमा रोपाइँ गर्न ढिलाइ भएकोे हो । भलपानी छोपेर, मूल फुटेर रोप्ने खेतमा हालसम्म समेत रोपाई हुन नसकेको व्यास नगरपालिका ८ रिस्तीका कृषक रामप्रसाद मिश्रले बताए । गतवर्ष यो समयमा खेत गोड्ने वेला भइसकेको थियो अहिले खेत रोप्न समेत नपाइएको उनको भनाई छ । खेत रोप्ने प्रतिक्षामा धान रोप्न राखिएको विउ समेत छिप्पिएर बिग्रन समेत लागेको छ ।
तनहुँमा सोना मनसुली, सावित्री, मकवानपुरे, सुख्खा १, सुख्खा २, आधुनिक जातहरु युएस ३१२ र च्यम्पियन हाईब्रिड जातका धान बढी लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा आठ हजार ७२० हेक्टर जमिन वर्षेधान खेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष आठ हजार ७२० हेक्टर जमिनमा धान लगाउँदा ३५ हजार ५२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष पानी नपर्दा आठ हजार ७२० हेक्टर जमिन मध्ये सात हजार छ सय ७३.६ हेक्टरमा मात्रै रोपाइँ भएको केन्द्रले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?