अभद्र व्यवहार मुद्दामा पक्राउ परेका किराना व्यवसायी परिवार धरौटीमा रिहा

तनहुँ, १४ श्रावण –  व्यास नगरपालिका–३ तरकारी लाइनस्थित पिन्टु (काले) किराना पसलका सञ्चालक परिवार बुधबार धरौटीमा रिहा भएका छन्।

प्लास्टिक झोला प्रयोग नियन्त्रणका लागि अनुगमनमा पुगेका व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई गालीगलौज र दुर्व्यवहार गरेको अभियोगमा सञ्चालक जवाहित साह, मायादेवी साह र राजु साहलाई जिल्ला प्रशासन कार्यालयले बुधबार १६ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो। नगरपालिकाको अनुगमन टोलीसँग अपमानजनक व्यवहार गरेको आरोपमा उनीहरूलाई गत विहिवार पक्राउ गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयले बयान लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई धरौटीमा रिहा गरिएकाे हाे। यसअघि व्यास नगरपालिकाले तरकारी बजार क्षेत्रमा ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक झोला प्रयोगमाथि प्रतिबन्ध लगाउँदै नियमित अनुगमन गरिरहेको छ। यसै क्रममा अनुगमनमा गएको टोलीलाई राजु साहले तथानाम गाली गरेकाे भिडियो समेत सामाजिक सञ्जालमा भाईरल भएकाे थियाे ।

व्यापारीले सार्वजनिकरूपमा अपशब्द बोलेको आरोपमा प्रहरीले बिहीबार बिहान पसल सञ्चालक र उनका परिवारलाई नियन्त्रणमा लिएको थियो। नगरपालिकाले विहिवार अनुगमन पदाधिकारीमाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाउँदै उनिहरू विरूद्द जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?