तनहुँ- तनहुँको व्यास नगरपालिका–१३ बेलवासका २६ वर्षीय कमलेश चन्द ठकुरी दश दिनदेखि रहस्यमय रूपमा बेपत्ता छन्। उनी साउन ७ गते राति ऋषिङ गाउँपालिका–१, झापुटारबाट अचानक हराएका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार कमलेशको खोजी र अनुसन्धान कार्यलाई तीव्र पारिएको छ। उनले बताए अनुसार तनहुँ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू मिलेर खोजी अभियान सञ्चालन भइरहेको छ।
बिहीबार सशस्त्र प्रहरीको गोताखोर टोलीले भानुबाट आएर सुँडेको पुल आसपासका नदी क्षेत्रमा डुङ्गाको सहायताले खोजी कार्य गरेको थियो। उता स्थानीय बासिन्दा सयौँको संख्यामा डाँडा, खोल्सा र जंगल क्षेत्रमा चन्दको खोजीमा खटिएका छन् ।
प्रहरीले अनुसन्धानलाई प्रविधिमैत्री बनाउँदै प्राविधिक टोलीसमेत परिचालन गरेको छ। हालसम्म ६ जना युवाहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको र दुई युवतीसहित दर्जनौँ सरोकारवालासँग बयान लिइसकिएको डीएसपी थापाले जानकारी दिए। चन्द बेपत्ता बनाउने घटनामा केही व्यक्तिहरूको संलग्नता देखिएको भन्दै परिवारको जाहेरीका आधारमा अनुसन्धान भईरहेकाे उनले बताए।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोली अनुसन्धानमा खटाइएको छ।
१० दिन बित्दासमेत छोरा बेपत्ता भएको घटनाले कमलेसकी आमा सावित्रा चन्द चिन्तित बनेकी छन्। उनले छोराको अवस्थाबारे सत्यतथ्य जानकारी पाउनुपर्ने माग गरेकी छन्।
घटनाले जिल्लाबासी र सरोकारवालाको चासो बढाएको छ भने प्रहरी पक्षबाट घटनाको रहस्य पत्ता लगाउन निरन्तर प्रयास भइरहेको जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?