सडकहरूमा जोखिम बढ्दा सतर्कता अपनाउन तनहुँ प्रशासनको आग्रह

तनहुँ- निरन्तर वर्षासँगै पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्ड र अन्य सहायक सडकहरूमा पहिरो र दुर्घटनाको जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सवारी दुर्घटनाहरू पृथ्वी राजमार्ग विस्तार भएसंगै बढ्दै गएको र विशेषगरी केही जोखिमयुक्त स्थानहरू पहिचान गरिएको उल्लेख छ। यात्रुहरूलाई राति अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

साउन २० गते बसेको राजमार्ग सुरक्षा तथा अवराेध हटाउने जिल्ला समन्वय समितिकाे बैठकले पृथ्वीराजमार्गको तनहुँ खण्डका पाँच प्रमुख जोखिम स्थान पहिचान गरी आवश्यक सुधार कार्य गर्न निर्देशन दिईएको छ। साथै, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक र सडक निकायसँग समन्वयमा योजना कार्यान्वयन गरिने बताइएको छ।

यसैबीच साउन १८ गते आँबुखैरेनी–२ ऐनापहरामा पार्किङ गरिएको बस आफै गुडेर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए। पार्किङ स्थल सडकभन्दा अग्लो भएकाले यस्तो घटना भएको भन्दै अब भविष्यमा यस्तो नहोस् भन्न सक्ने उपायहरू अपनाउन प्रशासनले सरोकारवालालाई निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?