तनहुँमा सवारी दुर्घटनामा ११ जना घाईते

२८ श्रावण-  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा विहिवार साँझ भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो एक आपसमा ठोक्किदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा विद्युतीय माइक्रोमा सवार नौ जना र बसमा सवार दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । माइक्रोमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका घाइतेलाई १ जनाको दमौली स्थित रत्नहरि अस्पताल दमौली, ४ जनाको मणिपाल अस्पताल पोखरा र ६ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

घाईतेहरुको स्थानीय, प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?