सिद्धगुफाभित्र पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक

तनहुँ । नेपालकै ठूलो गुफामध्ये एक मानिने सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक बसेको छ। बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित शाखाले सोमबार घुम्ती बैठक गुफाभित्र आयोजना गरेको हो।

जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घुम्ती बैठक गर्ने निर्णय अनुसार सिद्धगुफामा बैठक आयोजना गरिएको शाखाले जनाएको छ।

बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिए। उनका अनुसार गुफाको पर्यटन सम्भावनालाई उजागर गर्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममार्फत निरन्तर सामग्री प्रकाशन गरिनेछ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले यसअघि व्यास नगरपालिका–३ स्थित व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा समेत घुम्ती बैठक सम्पन्न गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?