नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १५औँ साधारणसभा शुक्रबार मुस्ताङको जोमसोममा सम्पन्न भएको छ।
साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्माले सरकारले नेपाली सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै बन्दुकको नालसँग नडराएका पत्रकार वर्तमान सरकारसँग नझुक्ने बताइन्।
शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेलले सरकारले नियमनका नाममा नियन्त्रण गर्न खोजेकाले यसको विरुद्ध सशक्त आवाज उठाउन आवश्यक रहेको धारणा राखे।
पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले तनहुँ शाखा सहमति र सहकार्यका साथ चलिरहेको र शाखाले उत्कृष्ट काम गर्दै आएको बताए । पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने बाटोमा अघि बढेको आरोप लगाए।
पूर्व अध्यक्ष ओमकार आचार्यले प्रदेश र स्थानीय सरकार स्वायत्त भए पनि संघीय सरकारकै निर्णयअनुसार प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीम रसाइलीले पनि आफ्ना धारणा राखेका थिए।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कृष्ण न्यौपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण विकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफलपछि संशोधनसहित पारित गरिएको महासंघले जनाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?