दमौली । व्यास नगरपालिकाको २३७ औं कार्यपालिका बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले शिक्षा, बजेट तयारी, प्रशासनिक सुधार र विकास योजनाका विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा अघिल्लो कार्यपालिका बैठकका निर्णय तथा सेवा प्रवाह सम्बन्धी कार्यहरूको समीक्षा गरिएको थियो। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धी पूर्वतयारीबारे छलफल गर्दै प्रगति विवरण, अनुमानित आयका स्रोत तथा सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिने निर्णय गरिएको छ। साथै, नगरपालिकालाई “खोप सुनिश्चित नगरपालिका” घोषणा गर्ने तयारीबारे पनि समीक्षा गरिएको जनाइएको छ।
शिक्षा क्षेत्रतर्फ, २०८२ सालको SEE परीक्षाको नतिजा विश्लेषण गर्दा अधिकांश विद्यालयमा विज्ञान र गणित विषय कमजोर देखिएकाले सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। शिक्षा शाखालाई सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
विद्यालय व्यवस्थापन समितिमा मनोनयन सम्बन्धी विषयमा पनि निर्णय गर्दै हाल शिक्षा ऐन २०२८ को सन्दर्भमा जारी अध्यादेशअनुसार सदस्य हटाइएकाले आवश्यक प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ।
बैठकमा विद्यालय समायोजनपछि दरबन्दी मिलान गरिएका शिक्षकहरूलाई केही विद्यालयले हाजिर नगराएको विषयमा गम्भीर चासो व्यक्त गरिएको छ। नगरपालिकाले त्यस्ता विद्यालयलाई दरबन्दी कटौतीको निर्णय कार्यान्वयन नगर्न र तलब भत्ता निकासा यथास्थानबाट गर्न निर्देशन दिएको छ।
त्यसैगरी, राजस्व सम्भाव्यता अध्ययन, करदाता शिक्षा कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी अध्ययन प्रतिवेदन सुझावसहित पारित गरिएको छ। व्यास नगरपालिका भित्रका घरपरिवारको प्रकाशित सूचनाअनुसार प्राप्त दाबी–विरोधलाई प्रमाणित गरी आवश्यक निर्णयका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय पनि गरिएको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हालसम्म चालुतर्फ ७१.०३ प्रतिशत र पुँजीगततर्फ ३२.९६ प्रतिशत प्रगति हासिल भएको जानकारी दिइएको छ। कुल ७८८ योजनामध्ये ३६४ योजना सम्पन्न, ३६४ योजना सम्झौता भई कार्यान्वयनमा रहेका तथा ६४ योजना सम्झौता हुन बाँकी रहेको जनाइएको छ।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त खरिद सम्बन्धी नमुना SOP पारित गर्ने निर्णय गरिएको छ। साथै, आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गर्दै असुल उपर गर्नुपर्ने बेरुजु फर्छ्योट, पेश्की व्यवस्थापन र वैधानिक खर्च न्यूनीकरणका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?