दमौली, जेठ २५ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका पक्की संरचना, वरन्डा तथा टिनका संरचनाहरू हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै बजार क्षेत्रभित्र सडक र पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका संरचनाका कारण सवारी आवागमन, पैदलयात्रु तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ।
व्यास नगर कार्यपालिकाको जेठ २२ गते बसेको २३८औँ बैठकले अतिक्रमित संरचना हटाउने निर्णय गरेपछि नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई निर्धारित अवधिभित्र आफैं संरचना हटाउन आग्रह गरेको हो।
नगरपालिकाद्वारा जारी सूचनामा दमौली बजार क्षेत्रको सडक अधिकार क्षेत्र र सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका सबै प्रकारका संरचना ३५ दिनभित्र हटाउन भनिएको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाइए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले नै हटाउने चेतावनी दिइएको छ।
नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित, सडक व्यवस्थापन तथा बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन अभियानमा सहयोग गर्न सबै सरोकारवाला पक्षसँग अनुरोध गरिएको छ।
व्यास नगरपालिकाले बजार क्षेत्रको सौन्दर्य, यातायात व्यवस्थापन तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै सडक अतिक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?