सडक पेटीका अवैध संरचना हटाउन व्यास नगरपालिकाको अन्तिम चेतावनी

दमौली । व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध हुने गरी निर्माण गरिएका संरचना हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई अन्तिम चेतावनी दिएको छ।

नगरपालिकाले यसअघि ३५ दिनको सूचना जारी गरे पनि कतिपय संरचना अझै नहटाइएको भन्दै पुनः सात दिनको समय दिएको हो। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार सडक अधिकार क्षेत्रभित्र पर्ने पक्की संरचना, र्‍याम्प, सिँढी, बरन्डा तथा टिनका छज्जालगायतका संरचना हटाउनुपर्नेछ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी निर्माण गरिएका संरचना सम्बन्धित घरधनी वा पक्षले आफ्नै खर्चमा हटाउनुपर्ने नगरपालिकाले जनाएको छ। तोकिएको सात दिनभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानुन तथा नगर कार्यपालिकाको निर्णयअनुसार आफैँ हटाउने चेतावनी दिएको छ।

नगरपालिकाले संरचना हटाउने क्रममा लागेको सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पक्षबाट असुल गर्ने जनाएको छ। साथै आवश्यक कानुनी कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ।

व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक स्थानलाई पैदलयात्री र सर्वसाधारणका लागि सहज बनाउने उद्देश्यले अतिक्रमण हटाउने अभियान अघि बढाएको हो। यसअघि जारी गरिएको सूचनापछि अधिकांशले आफैँ संरचना हटाए पनि बाँकी संरचना हटाउन नगरपालिकाले प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?