रसुवाकाे भाेटेकाेशीमा गएको १० गते आएको विनाशकारी बाढीमा परेकामध्ये अहिलेसम्म १ हजार २८७ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो साढे १२ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।
अहिलेसम्म रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ वटा शव भेटिएका छन् ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ९३ जनाको उद्धार भएको छ । ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन् ।
यस्तै बाढीमा परेर घाइते भएका ५ हजार ३९७ जनामध्ये ३०४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
उद्धार गरिएकामध्ये ४ हजार ५२१ जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ । नुवाकोटमा ३ हजार १८१, रसुवामा १ हजार १४१ र धादिङमा १९९ जना होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
यस्तै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि आज बिहान जीवितै उद्धार भएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?